नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकमा लगानीकर्ता र संचालक बीचकाे विवाद उत्कर्षमा, साधारण सभा नै राेकियाे

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको लगानीकर्ता र संचालक बीचकाे विवाद उत्कर्षमा पुगेकाे छ । विवादका कारण आजका लागि डाकिएको तीनवर्ष पछिको साधारण सभा समेत स्थगित भएको छ ।

संचालक समिति समितिबाट गणपुरक संख्या ५१ प्रतिशत नपुग्ने भएकाे र ठूलो लगानीकर्ता बुटवल पावरका दुई संचालकसमितिका सदस्य नै उपस्थित नहुने भएपछि साधारण सभा स्थगित भएको हो।

यसअघि कम्पनीको साधारण सभा आर्थिक वर्ष २०७४/२०७५ मा भएकाे थियो । बुटवलस्थित कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता बुटवल पावर कम्पनीले एनएचइको संचालक समिति, अध्यक्ष, सदस्य तथा कम्पनी सचिवलाई बिपक्षी बनाएर २०७५ भदौ २० मा मुद्धा दायर गरेको थियो ।

निवेदक र बिपक्षीबीच सहमति गरेपछि २०७६ पुस १६ मा मिलापत्र भएको थियो । त्यसपछि लेखा परिक्षण गरिएको कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले साधारण सभा कात्तिक १७ गते आज गर्ने निर्णय गरेको थियो ।