
महोत्तरी, १७ फागुन । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ ।
बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन् । बर्दिबास–५ टुटेश्वरका बुद्धिराज काफ्लेले भने, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन् ।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उनको भनाइ छ । डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ ।
साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ । उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउछन्। “दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भने। वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ ।
जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ । जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ । पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास–५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउछन्।
वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उनले भने।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको… 



