सीप विकास तालिम केन्द्र पाेखरामा नि:शुल्क तालिमको अवसर

-



     सफल आवाज    
     पौष १० गते २०७७ मा प्रकाशित



पाेखरा,१० पुस । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पाेखराले निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । तालिम केन्द्र पाेखराका प्रमुख अनिल सुवेदीका अनुसार संस्थाले १८ वर्ष देखि ४० वर्ष भित्रका व्यक्तिलाई प्लम्बिङ, विद्युत जडान, कपाल काट्ने तालिम, मोटरसाइकल मर्मत, मोवाइल मर्मत, सिलाई कटाई, व्यूटी पार्लर, बुटिक डिजाइन, फेशन डिजाइन, टेलर मास्टर, मिनि टिलर (हाते ट्याक्टर) मर्मत लगायतका तालिम निःशुल्क प्रदान गर्न लागेको हो । केन्द्रले यहि मंसिर ३० गते सूचना प्रकाशित गर्दै निःशुल्क तालिममा सहभागिताका लागि आवेदन माग गरेको छ ।

यसका अलवा केन्द्रले मन्टेश्वरी तालिम, कम्प्युटर हार्डवयर तालिम पनि निःशुल्क दिइने सूचनामा उल्लेख गरेको छ । यसका लागि प्रशिक्षार्थीको शैक्षिक योग्यता १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भने अन्यको लागि प्रशिक्षार्थीले ८ कक्षा पास गरेको हुनुपर्ने जनाइएको छ ।

तालिमका लागि कोभिड–१९ प्रभावित, बैदेशिक रोजगारबाट फर्किएका, विपन्न, दलित, अपाङ्ग, शहिद परिवार, द्वन्द्व पिडित र एकल महिलालाई विशेष प्राथमिकता दिइने बताइएको छ । केन्द्रका प्रमुख अनिल सुवेदीले प्रकाशित सूचनाको आधारमा रित पूर्वक आवेदन फाराम भरि यो महत्वपूर्ण अवसरको सदुपयोग गर्दै सीप सिकेर आत्म निर्भर बन्न आग्रह गरेका छन् । तालिममा सहभागिताको लागि यही पौष २० गते सम्म आवश्यक कागजात सहित फाराम भरेर तालिम केन्द्रमा आवेदन फाराम बुझाइ सक्नुपर्ने बताइएको छ।