
पोखरा, १७ पुस । कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस पोखरा सडक महोत्सवमा रमाएका छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा न्यू इयर इभ मनाउन पोखरासहित विभिन्न ठाउँबाट गएराति लेकसाइडमा आन्तरिक पर्यटकको घुइँचो थियो । विगतमा जस्तो आतिशवाजी यसपालि नभए पनि उनीहरुले आपसमा शुभकामना साटासाट गर्दै मध्यरातमा फेवाताल किनारबाट नयाँ वर्षको भव्य स्वागत गरे ।
गत वर्षदेखि सुरु कोभिड–१९ को प्रभाव १० महिनायता पनि कायमै रहेको बेला आयोजित महोत्सवमा मानिसको ठेलमठेल भिड देखिन्थ्यो । अधिकांशले मास्क लगाएको भए पनि भिडका कारण कोभिड–१९ संक्रमण फैलिनबाट रोक्न पर्याप्त थिएन । फेवाताल किनारको सहिदचोकदेखि हल्लनचोकहुँदै डिहिकोपाटनसम्म मानिसको लर्को थियो । ठाउँ ठाउँमा आयोजित सांगीतिक कार्यक्रममा मानिसहरु झुम्मिएको देखिन्थे । करिब ३ किमी क्षेत्रफलमा भएको महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा आयोजना हुने महोत्सव हो ।
आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखरा अध्यक्ष लक्ष्मण बरालले आफूहरुले सोचेभन्दा बढी दर्शक आएको बताए । उनले भने, ‘विषम परिस्थितिका कारण यति धेरै सडक नै भरिने गरी दर्शक आउनुहुन्छ होला भन्ने लागेको थिएन, तर सोचेभन्दा बढी आउनुभयो । रेष्टुरेन्ट तथा होटलहरु करिब ७०/८० प्रतिशत भरिभराउ थिए ।’ उनका अनुसार करिब ३०/४० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
मानिसको अत्यधिक भिडले कोरोना भाइरसको संक्रमण पनि उत्तिकै बढायो होला नि भन्ने जिज्ञासामा दर्शक स्वयं सचेत भइसकेको अवस्थामा उहाँहरुलाई मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको तथा सडकका ठाउँठाउँमा कोभिड–१९ विरुद्ध सचेतनामूलक बोर्ड राखिएकोले संक्रमण कमैमात्र फैलिन सक्ने अध्यक्ष बरालले दाबी गरे।
विगतमा जस्तो महोत्सवले निरन्तरता नपाउने आशंकाबीच जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सचेतना अपनाउँदै महोत्सव गर्न अनुमति दिएपछि आयोजकले उत्साहित भएका थिए । विगतमा ५ दिनसम्म हुने गरेको महोत्सव छोट्टाएर ३ दिनसम्ममात्र संचालन गरिएको हो । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बुधबार औपचारिक रुपमा उद्घाटन गरेको सडक महोत्सव शुक्रबारसम्म चल्नेछ ।
सडकमै नाचौ, सडकमै खाऔं, सडकमै रमाऔं नाराका साथ आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि रेवानले हरेक वर्ष यो महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा खानाका विभिन्न परिकार सडक किनारमा कुर्सीटेबुल उतारेरै ग्राहकलाई पस्किने गरिन्छ भने विभिन्न सांगीतिक कार्यक्रम लगायत हुने गर्दछन् ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



