लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक: अध्यक्ष यादव

-



     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित



पर्सा, २८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

सङ्घीय प्रेस फोरम पर्साले वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको असंवैधानिक कदमका कारण सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएकाले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको छ भने ।

अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने र प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै वैशाख महिनामा कुनै पनि हालतमा निर्वाचन नहुने बताए। उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको बताए।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले नेपाल भारतबीच रहेका सबै विवाद र समस्याको निकास वार्ता र संवादबाटै खोजिनुपर्ने बताए।