विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७४ अर्ब, साढे १४ महिनाको आयात धान्न पुग्ने

-



     सफल आवाज    
     माघ १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ माघ । विदेशी विनिमय सञ्चिति सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन रिपोर्ट अनुसार १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १०८.७ प्रतिशत र ३२.४ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

२०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भई २०७७ मंसिर मसान्तमा रु.१४७४ अर्ब ३४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ५.९ प्रतिशतले वृद्धि भई रु.१२९८ अर्ब ७२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ०.१ प्रतिशतले कमी आई रु.१७५ अर्ब ६२ करोड कायम भएको छ । २०७७ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।