शेयर बजारमा वित्तीय क्षेत्रकै वर्चश्व, पुँजीकरण हिस्सा ७१ प्रतिशत नाघ्यो

-



     सफल आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ माघ । शेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रकै वर्चश्व कायम देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन रिपोर्टले सूचीकृत कम्पनीहरु मध्ये बैंक तथा बीमाको वर्चश्य कायम रहेको देखाएको हो ।

रिपोर्ट अनुसार २०७७ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३५ जलविद्युत कंपनी , १९ उत्पादन तथा प्रशोधन उद्योग, ४-४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मंसिरसम्ममा सूचीकृत ५ अर्ब ६१ लाख संख्याकोशेयर चुक्ता मूल्य रु.४९१ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनामा रु.१ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु.११ अर्ब ४१ करोड बराबरको साधारण शेयर, रु.५ अर्ब ८० करोड बराबरको बोनस शेयर, रु.७ अर्ब बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र रु.६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.१ खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.५ अर्ब ४ करोड बराबरको डिबेन्चर, रु.२ अर्ब २ करोड बराबरको साधारण शेयर, रु.५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र रु.५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.८ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।