एनसीसीले पठायो नेप्सेलाई जवाफः मूल्यमा असर गर्ने कुनै निर्णय भएको छैन

-



     सफल आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ माघ । एनसीसी बैंकले नेपाल स्टक एक्सचेन्जलाई लिखित जवाफ पठाएको छ । पत्रमा कुनै बैंकसंग विलय हुने विषय तथा मूल्यमा असर गर्ने बारे कुनै निर्णय नभएको उल्लेख छ ।

बैंकका अनुसार अहिलेसम्म औपचारिक रुपमा मर्जर वा एक्वीजिसनका बारेमा कुनै निर्णय भएको छैन । साधारणसभाबाट मर्जर तथा एक्वीजिसनको कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिएपनि यसका बारेमा निर्णय नभएको बैंकले जनाएको छ ।

आईतबार नेपाल स्टक एक्सचेन्जले नेप्सेको कारोबार प्रणालीमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको उच्च खरिदको चाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए ३ दिनभित्र जानकारी दिन निर्देशन गरेको थियो ।

बैंकले नेप्सेले गरेको निर्देशनको जवाफ पठाउँँदै मर्जरका बारेमा संस्थाको खोजि भईरहेको भएपनि हालसम्म कुनै निर्णय नभएको जनाएको छ । स्मरण रहोस् माघ ९ गतेको बैंकको साधारण सभाले बलियो संस्थासंग मर्जरमा जाने निर्णय गरेपछि एनसीसीको शेयरको माग बढेको थियो ।