नेकपाको आधिकारिक फुटपछि मात्रै सरकार गठनको तयारी गरिनेछ: प्रदेश सांसद थापा

- सांसद भत्ता सामाजिक सेवामा

-



     सफल आवाज    
     माघ १४ गते २०७७ मा प्रकाशित



पोखरा, १४ माघ । गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिकरुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुनर्गठनका लागि धारणा बनाउने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपालाई जनताले ५ वर्षका लागि म्यान्डेट दिए पनि उनीहरु असफल भएको टिप्पणी गरे ।

‘सरकार बन्न नसक्ने अवस्था भए कांग्रेसले सरकार बनाउँछ, अन्यथा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस छैन,’ उनले भने । समृद्धिको नारा दिएको नेकपा सरकारले भाषणबाहेक जनतालाई केही नदिएको उनको टिप्पणी थियो ।

उनले भने, ‘जनताका लागि गरिएको भनिएको राजनीतिले पटक–पटक जनतालाई दुख दिएको छ । आज पनि व्यक्तिगत लहडको राजनीतिले जनमतमाथि जुन अपमान भैरहेको छ, यो सयौं वर्षसम्मका लागि क्षम्य हुने छैन । आन्तरिक अन्तरसंघर्षलाई देशको प्रतिष्ठासँग साट्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको जति विरोध गरे पनि कम हुनेछ ।’ उनले विघटित संसद कुनै पनि हालतमा पुनः स्थापना हुनुपर्नेमा पनि जोड दिए ।

सांसद थापाले कोरोनाको संक्रमणले जनता आक्रान्त बनेको बेला जनतालाई गफ र भाषणबाहेक केही दिन नसकेको भन्दै विकास बजेटको करिब ७ महिना सकिन लाग्दा मात्र १५ प्रतिशत खर्च मात्रै भएको बताए ।

उनले निर्वाचनपछि राज्यबाट पाएको सेवासुविधा सामाजिक सेवामा खर्च गर्दैआएको बताए । २०७६ माघदेखि २०७७ पुससम्म आफ्नो बैंक खातामा आएको ८ लाख ५९ हजार रुपैयाँ सहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको बताए । उनले बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको दाबी गरेका हुन् ।

कास्की क्षेत्र २ (ख) बाट निर्वाचिन सांसद थापाले विभिन्न २० क्षेत्रमा सहयोग गरेका हुन् । कार्यक्रममा कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रतिनिधिसभा विघटनको विरोधमा कास्की कांग्रेसले आन्दोलन सशक्त बनाउने बताए । केन्द्रमा नेताहरुबीच दोधारे प्रवृत्ति देखिएको समाचार बाहिर आए पनि कास्की कांग्रेसले भने निरन्तर आन्दोलनमा रहेको बताए ।

प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेलले पनि बोलेका थिए ।

सांसद थापाले तलबभत्तावापत गरेको सामाजिक कार्य विवरण: