यूएईमा मृत्युदण्डको सजाय भोगिरहेका अमरबहादुर बमको जीवनरक्षा र रिहाइका लागि पहल गर्न माग

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ मङ्सिर। संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई दशकभन्दा लामो समयदेखि कारागार जीवन बिताइरहेका र मृत्युदण्डको सजायको अवस्थामा रहेका नेपाली नागरिक अमरबहादुर बमको जीवनरक्षा तथा रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न माग गरिएको छ।

क्षत्री समाज नेपाल, यूएई शाखाले २२/११/२०२६ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

ज्ञापनपत्रमा दार्चुला जिल्ला, साविक धारी गाविस, हाल दुहुँ गाउँपालिका वडा नम्बर ४ निवासी अमरबहादुर बम सन् २००३ मा दुबईमा भएको हत्या घटनासम्बन्धी मुद्दामा मृत्युदण्डको सजायमा परेको उल्लेख छ।

आफू उक्त अपराधमा प्रत्यक्ष संलग्न नरहेको दाबी गर्दै आउनुभएका बम लामो समयदेखि कारागारमा रहनुभएकाले उहाँको जीवनरक्षा र मानवीय अधिकारको विषयलाई उच्च प्राथमिकतामा राखी विशेष पहल र सक्रिय कूटनीतिक प्रयास गर्न समाजले सरकारसमक्ष अनुरोध गरेको छ।

समाजका अनुसार यस विषयमा गृहमन्त्री सुधन गुरुङ दुबई जाँदा समेत जानकारी गराइएको छ। क्षत्री समाजले यस्तै गरी न्याय नपाएका बन्दीहरूलाई सहयोग तथा कानुनी परामर्श प्रदान गर्दै आएको र अन्य देशहरूमा समेत सहकार्य तथा विभिन्न देशमार्फत धेरै नेपालीको उद्धार सहयोग गरिरहेको समाजका अन्तर्राष्ट्रिय इन्चार्ज हंशराज ढकालले जानकारी दिनुभएको छ।

उक्त ज्ञापनपत्रको बोधार्थ नेपाली महावाणिज्यदूतावास दुबई (यूएई), परराष्ट्र मन्त्रालय काठमाडौँ र क्षत्री समाज नेपालको केन्द्रीय कार्यालय पोखरामा समेत पठाइएको छ। समाजका अध्यक्ष कृष्ण बहादुर ढकाल क्षत्री र सचिव भिम के.सी.द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नागरिकको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको यो संवेदनशील विषयमा छिटोभन्दा छिटो ठोस कदम चाल्न आग्रह गरिएको छ।