पूँजी बजार सुधार गर्न नेप्सेका नयाँ सीईओ सुवेदीलाई लगानीकर्ता संघको आग्रह

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीलाई पूँजी बजार सुधारका लागि पहल गर्न आग्रह गरेको छ।

नवनियुक्त सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन पुगेका संघका प्रतिनिधिहरूले बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्।

संघले नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य शेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी सुधार गर्न सुझाव दिएको छ। त्यस्तै, सुरक्षित कारोबार प्रणाली विकास, दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच तथा शेयर राफसाफ र भुक्तानी प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन आग्रह गरेको छ।

बजारमा आधुनिक वित्तीय उपकरण भित्र्याउने, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, तरलता विस्तार गर्ने र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्नुपर्ने संघको माग छ।

संघले पूँजी बजारको विकासका लागि पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिनुपर्ने जनाएको छ। नेप्सेको नयाँ नेतृत्वसँग प्रविधिगत आधुनिकीकरण र संस्थागत सुधारको अपेक्षा गर्दै संघले बजार सुधारका लागि नेप्से तथा नियामक निकायसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारेको छ।