सामाजिक सुरक्षाको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गरिने-अर्थमन्त्री वाग्ले

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताएका छन् ।

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

सामाजिक सुरक्षालाई लोककल्याणकारी राज्यको आधारस्तम्भका रूपमा स्थापित गर्न आगामी पाँच वर्षसम्म निरन्तर बजेट विनियोजन गर्दै जानुपर्नेमा उनले जोड दिए । “आगामी बजेटपछि सामाजिक सुरक्षा प्रणालीलाई उल्टाउन नसकिने दीर्घकालीन सुधारका रूपमा स्थापित गर्न सकिनेछ,” उनले भने ।

सामाजिक बीमा र पुनर्वितरणको अवधारणा अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षा प्रणालीका दुई प्रमुख आधार ‘सामाजिक बीमा’ र ‘पुनर्वितरण’ रहेको स्पष्ट पारे । उनका अनुसार:

  • विपन्न वर्गका लागि: अत्यन्त न्यून आय भएका तथा आयआर्जन गर्न नसक्ने वर्गलाई राज्यले सामाजिक सहायता र पुनर्वितरणमार्फत सुरक्षा प्रदान गर्नुपर्छ ।
  • आय भएका वर्गका लागि: योगदान गर्न सक्ने क्षमता भएका नागरिकलाई अनिवार्य रूपमा सामाजिक बीमाको दायरामा ल्याउनुपर्छ ।

यो अवधारणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक दस्तावेजमा समेत स्पष्ट रूपमा उल्लेख रहेको बताउँदै उनले सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको नीतिअनुसार सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै जाने उल्लेख गरे । सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको हित संरक्षण गर्नुका साथै विशेषगरी साना तथा मझौला उद्यम (एसएमई) हरूमा समेत आर्थिक उत्पादकत्व बढाउन सहयोग पुर्‍याउने विभिन्न अन्तर्राष्ट्रिय मूल्याङ्कनले देखाएको उनको भनाइ छ ।

कोषको रकम भौतिक पूर्वाधारमा परिचालन गरिने

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्ने विषयमा पनि सरकारले गृहकार्य गरिरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए । यसका लागि अनिवार्य पेन्सनमा प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर निर्धारण गरेर विशेष प्रकृतिको ऋणपत्र (बन्ड) जारी गर्ने नीतिगत आधारमाथि छलफल भइरहेको उनले बताए ।

यसका साथै, छरिएर रहेका विभिन्न सामाजिक सुरक्षा कार्यक्रमहरूलाई एकीकृत संरचनामा रूपान्तरण गरी दिगो सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन विभिन्न विकल्पहरूमाथि छलफल भइरहेको उनले उल्लेख गरे । स्वास्थ्य बीमालगायतका लोककल्याणकारी कार्यक्रमको समेत समीक्षा भइरहेको र आगामी बजेटमार्फत यस्ता कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने अर्थमन्त्री वाग्लेको भनाइ छ ।