दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ । कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको हो ।

कोशीका लागि मिलन राईले खेलको १२औँ मिनेट र ३२औँ मिनेटमा दुई गोल गरेका थिए । यस्तै अमित सन सतारले खेलको १४औँ मिनेट तथा सौरभ लिम्बूले ६४औँ मिनेटमा गोल गरेका थिए । यस्तै लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए ।

कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८औँ मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा सीमित भएको थियो । पहिलो खेलमा बागमतीसँग बराबरी गरी एक अङ्क पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अङ्क प्राप्त गरेको छ ।

त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अङ्कविहीन भएको छ । आजै बागमती र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल हुँदैछ ।