बारपाकको राङरुङ भिरबाट जीप खस्दा २ जनाको मृत्यु, ७ घाइते

-



     सफल आवाज    
     चैत्र २२ गते २०७७ मा प्रकाशित



गोरखा, २२ चैत । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते छन् ।

बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षकको कमाण्डमा बालुवा प्रहरी चौकीबाट समेत प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिएको थियो । जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् ।