फेदिखाेलामा इन्सेकद्वारा शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



स्याङ्जा, ६ वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं २ काला भैरव माध्यामिक विद्यालयमा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ ।

मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता विषयक कार्यक्रममा फेदिखोला गाउँपालिकाकी उपाध्यक्ष देवी थापाले इन्सेकले बिगत लामो समय देखि सूचनामुलक र चेतनामुलक कार्यक्रम गर्दै आएको र यस्ता कार्यक्रमले समाजमा रहेका सरोकारवालाहरुलाई झकझकाउने काम गरेको बताइन ।

थापाले बदलिदो शिक्षाको परिस्थितीमा बिद्यार्थीहरुलाई इन्टरनेटको प्रभावकारी प्रयोगबाट शिक्षा दिनुपर्ने कुरामा जोड दिइन । पालिकाभित्र चेतनामुलक विभिन्न कार्यक्रमहरु हुदै आएको र पालिकामा आउने बजेट मध्ये ३८ प्रतिशत बजेट शिक्षामा बिनियोजन गरिएको बताइन । साथै बालअधिकार सम्बन्धी विभिन्न पक्षमा आगामि बर्षमा कार्यक्रम संचालन गरिने जानकारी दिइन ।

कार्यक्रममा फेदिखोला गाउपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले पालिकाभित्र शैक्षिक सुधारका कार्यक्रम तथा आगामी बर्षमा विनियोजनगरिएका कार्यक्रमहरुको बारेमा कार्यपत्र पेश गरेका थिए । उनले आगामी वर्षमा स्थानीय पाठ्यक्रमलाई पनि पठनपाठन मा ल्याईने कुरा बताए ।

कार्यक्रममा विद्यालयका सहप्राध्यापक डिल्लीरमण कोइराला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर खत्रीले इन्सेकद्धारा संचालित यस्ता सूचनार खबरदारिका कार्यक्रम गर्नाले धेरै सूचना प्राप्त हुनुका साथै समस्याहरुको पहिचान र समाधानमा उपायहरु प्राप्त हुने बताए ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुले आपनो विद्यालयमा भएका समस्याहरुको बारेमा प्रश्न उठाएका थिए । समस्याहरु मध्ये विद्यालयमा सफा पिउने पानी, खेलमैदान, नृत्य तथा सांगितिक कक्षा र क्यान्टिनको व्यवस्था हुनुपर्ने कुरामा जोड दिएका थिए । विद्यार्थीले विद्यालयमा विभिन्न हुन सक्ने बालअधिकार हनन र हिंसाहरुका बारेमा छलफल गर्दा यस्ता गतिविधिहरु हाल नभएको बताए । कार्यक्रममा दृष्टिबिहिन विद्यार्थीहरुले खासै समस्या नभएको बताएका थिए । शिक्षकहरुले इन्टरनेटको सुविधा सबै शिक्षक र विद्यार्थीहरुमा अनिवार्य लागु गरि शिक्षामा प्रविधिको विकास गरिनु पर्ने बताए ।

कार्यक्रममा छलफलको क्रममा विद्यालयका सहप्राध्यापक डिआर कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर खत्रीले विद्यालयको जग्गा अभाव र वनमा भएको आगजनिको कारण पानीको पाइप जलेर समस्या भएको तथा खेलमैदान प्रयाप्त नभएको बताए । विद्यालय हाताभित्र नै गोरेटो बाटो भएको र हाल उक्त बाटोलाई मोटर बाटोको लागि समुदायले माग गरेकोले झन् समस्या भएको बताए ।

कार्यक्रममा फेदिखोला गाउँपालिका मानव अधिकार समूहका संयोजक लेखनाथ पराजुलीले इन्सेकद्धारा संचालित यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । ४६ जनाको सहभागिता भएको उक्त कार्यक्रमको उद्धेश्यको बारेमा इन्सेकका फोकल पर्सन सवनम शर्माले सहजिकरण गरेकी थिइन । कार्यक्रमको संचालन इन्सेक स्याङजा जिल्ला प्रतिनिधि तिल कुमारी (नम्रता) थापाले गरेकी थिइन ।