
तस्बिर:खेमराज गौतम-रासस
बागलुङ, ९ वैशाख । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।
सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ । यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट रु २० लिने निर्णय गरेको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई रु १० तथा विदेशी पर्यटकलाई रु ५० तोकिएको थियो ।
यस्तै बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो । चैत्राष्टमी पर्वकै दिनबाट शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमासमेत उक्त कार्यको आलोचना भएको थियो । बुधबार जिल्लामा क्रियाशील विद्यार्थी सङ्गठनले समेत कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिएका थिए । जनसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध शुरु भएको थियो ।
बागलुङ–१ बाङ्गेचौर र कुश्मा–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो उक्त झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ । उक्त झोलुङ्गे पुलले पर्यटकीय आकर्षणसमेत थपेको छ । सङ्घ सरकारको लगानीमा पुल बनेको हो ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



