सांसद शाहीलाई तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

-



     सफल आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



पोखरा, १६ वैशाख । नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सभामा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराईएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभापति कृष्ण बहादुर केसीले आज एक विज्ञप्ति प्रकाशित गरी सांसदलाई वदनियतपूर्वक अनुपस्थित गराईएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको बताएका छन् । साथै उनले तत्काल शाहीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

सभापति केसीले अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि हठात्मा संसद अधिवेशन अन्त्य गर्ने, छलफल शुरु भएपछि पी.सी.आर.परिक्षणका नाममा संसद अवरुद्ध पार्ने जस्ता संसदीय अभ्यास विपरितका क्रियाकलापहरुमा सरकार शुरुदेखि नै संलग्न रहेको प्रष्ट देखिएको बिज्ञप्तिमा लेखिएकाे छ ।

विश्वासको मत लिन नसक्ने अवस्था आएपछि सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग गर्नु र स्थानीय प्रशासन समेत संलग्न रहनु निन्दनीय भएको भन्दै केसीले एकै समयमा सांसद शाहीको पि.सी.आर.परिक्षणको रिपोर्ट फरक फरक आउनु आफैमा रहस्यमय भएकाे बताएका छन् ।

स्वास्थ्य संस्थाको विश्वसनीयतामा समेत प्रश्न उठने गरी क्रियाकलाप हुनु दुःखद विषय हो । अज्ञात अवस्थामा रहेका गण्डकी प्रदेश सभाका सांसद खिम विक्रम शाहीको अवस्था तत्काल सार्वजनिक गर्न केसीले माग गरेका छन् ।

बिज्ञप्तिमा संघीयतालाई कमजोर बनाउने गरी गरिएको प्रदेश सरकारकोे जसरी पनि सत्तामा टिकिरहने सर्वसत्तावादी रवैया भन्दै त्यसको निन्दा र भत्र्सना गरिएको छ ।