पोखराका सफल व्यवसायी कृष्णमान गुभाजु रहेनन्

-



     सफल आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित



पोखरा, २४ वैशाख । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो ।

पोखराबाट हेलिकोप्टरमार्फत थप उपचारार्थ काठमाडौं लगिएकोमा उनको भक्तपुर इन्टरनेसनल हस्पिटलमा गएराति निधन भएको हो । उनलाई वैशाख १५ मा कोरोना पोजेटिभ देखिएको थियो ।

काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर इन्टरनेशनल हस्पिटल लगिएको परिवारजनले जनाएका छन । भक्तपुर इन्टरनेशनल हस्पिटलकाे लापर्बाही र अक्सिजन अभावमा उनको ज्यान गएको बताइएको छ ।

पोखराको मोहोरिया निवासी कृष्णमानले कृष कञ्चन ज्वेलरी चलाउँदै आएका थिए । साथै कञ्चन क्यापिटल पनि उनले प्रबर्धन गरेकाे कम्पनी हो । विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध उनी सुनचाँदी व्यवसायी संघ पोखराका पूर्व अध्यक्ष थिए ।

पोखरा–११, काहुँडाँडामा निर्माणाधीन धर्मकाय बुद्ध मण्डला समितिमा उनी कोषाध्यक्ष थिए । रोटरी क्लब अफ अन्नपूर्णका पूर्व अध्यक्ष उनी विश्व शान्ति स्तूपा संचालन समितिमा २ कार्यकाल सचिव भइ काम गरेका थिए । धर्मशीला बुद्ध विहार नदीपुरको ज्ञानमाला संघ र दायक सभाका पूर्व अध्यक्ष उनी युवा बौद्ध संघ र धर्मोदय सभाका सल्लाहकार थिए । पाेखराका स्थापित ब्यवसायी गुभाजु सरल, सहयाेगी तथा सामाजिक ब्यक्तिका रूपमा चिनिन्थे । स्व. कृष्णमानका श्रीमती, २ छोरा र १ छोरी छन्।