अमेरिकी डलरको मूल्य घट्यो, ३ महिनामा करिब ५ रुपैयाँले गिरावट

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ भदौ । अमेरिकी डलरको मूल्यमा निरन्तर गिरावट आएको छ । लकडाउन अघि एक अमेरिकी डलर बराबर १२२ रुपैयाँ पुगेको मूल्य अहिले ११६ रुपैयाँमा झरेको छ । पछिल्लो तीन महिनाको मात्रै मूल्य हेर्ने हो भने पनि करिब ५ रुपैयाँले अमेरिकी डलरको मूल्य गिरावट भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ।

त्यसैगरि कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।