आजबाट ललितपुरमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

-



     सफल आवाज    
     भाद्र २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० भदौ । आज शनिबारबाट ललितपुर क्षेत्रमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने भएको छ । मछिन्द्रनाथको जात्राको विषयलाई लिएर हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो आदेश गरेको हो ।

यस अघि बिहीबार पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि शुक्रबार ललितपुरमा कर्फ्यू आदेश जारी गरिएको थियो । आज शनिबारदेखि ५ दिनसम्मका लागि अब ५ जना भन्दा बढी कहिकतै पनि भेला हुन नपाउने गरी आदेश जारी भएको बताइएको छ ।

कर्फ्यू हटाइए पनि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक र मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा पूर्व मदन स्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजारचोक, पश्चिम मदन स्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाइएको छ ।