विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था हुदैछ :मन्त्री भुसाल

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



टेक्सस, २१ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागेको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गरिरहेको बताए ।

गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियामा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए ।

राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त उपलब्धीलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा कन्जुस्याइँ गर्न नहुने बताए । उनले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा पनि केही फरक नपर्ने बताए । उनले गैरआवासीय नेपालीका आगामी पुस्तालाई नेपालसँग जोड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थालाई हटाउनुपर्ने बताए ।

राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले एकपटकको नेपाली सधैँको नेपाली हुने भएकाले सधैँ नेपाली हुनका लागि गैरआवासीय नेपालीले राज्यसँग गुहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

एनआरएनए आइसिसी सदस्य शङ्कर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वले व्यापक छलफल पश्चात सबैको सहमतिमा अब बस्ने संसद्को बैठकबाट नागरिकता विधेयक पास हुनुपर्नेमा जोड दिएकाे राससले लेखेको छ ।