
काठमाडौं, २४ भदौ । बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएका छन ।
केन्द्रीय बैंकले मंगलवार जारी गरेको एकीकृत निर्देशनमा ग्राहक पहिचान सम्बन्धी विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने र सोही माध्यमबाट ग्राहकको पहिचान तथा कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसका लागि छुट्टै ई–केवाइसी पोर्टल बनाउनु पर्नेछ ।
राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान फाराम भर्नुका साथै विद्युतीय माध्यमबाट खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने व्यवस्था गरिएको छ । बैंकका अनुसार विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात, विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रुपमा पहिचान गरिने विधि तय गर्नुपर्नेछ ।
विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरुपयोगबाट सुरक्षित रहन पर्याप्त सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले नयाँ खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि निर्देशन बमोजिम ग्राहक पहिचान गर्नुपर्ने छ ।
बैंकका सञ्चालकलाई नैतिक शिक्षा
बैंक तथा वित्तीय संस्थाका सञ्चालकले यदाकदा अशिष्ठ व्यवहार देखाएको पाइएपछि केन्द्रीय बैंकले शिष्ट भाषा बोल्न र काम गर्दाको वातावरण नबिगार्न भनेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको बुँदा नं ६२ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पदीय मर्यादा कायम राख्न निर्देशन दिएको हाे । राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नुपर्नेछ ।
सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने
एकीकृत निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने भएका छन् । त्यसका लागि उनीहरुले सहायक कम्पनी स्थापना गर्नुपर्ने छ । सोही कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने छन् । त्यसका लागि तोकिएको शर्त भने पालना गरेर इजाजत पत्र प्राप्त बैंकतथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न सक्ने छन् । त्यसमा योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्नेछ ।
कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले तोके अनुसारको जोखिम भार प्रदान गर्ने राससले लेखेको छ । वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पुरा भएको हुनुपर्ने छ । पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेको हुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने व्यवस्था गरिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा कार्यकारी प्रमुख राष्ट्र बैंकको कारवाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए फुकुवा भएको तीन वर्ष पुगेको हुनुपर्ने शर्त छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



