नेपालमा थपिए १२४६ कोरोना संक्रमित, कुल ५० हजार नाघ्यो

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ भदौ । नेपालमा १ हजार २ सय ४६ जना थप कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जना संक्रमित थपिएको जानकारी दिए। कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । नेपालमा गत माघ ९ मा मात्र पहिलो संक्रमित भेटिएको पुष्टि भएको हो ।

साथै, देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ। गएको २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेकोे छ ।

यसका अलावा नेपालमा सक्रिय संक्रमित ३४ हजार १ सय ९४ केसमा ३३ हजार ८ सय ८२ जना ९९.१ प्रतिशत निको भएका हुन् । तीमध्ये ३ सय १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लाहरु घटेका छन् । हाल सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रुपन्देही मात्र छन् ।

त्यस्तै, शून्य संक्रमित भएका जिल्लाहरु भने बढेका छन् । सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा संक्रमित छैनन् ।

५ जनाको मृत्यु

२४ घण्टामा ५ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंकी ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय र कपिलबस्तुका २९ वर्षीय पुरुष छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ जना पुगेको छ ।