लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई एसओएस बालग्राम काभ्रेमा संरक्षण

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



सिन्धुपाल्चोक, २६ भदौ । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि एसओएस बालग्राम काभ्रेमा लगिएको छ । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन ।

अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ । भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुगेका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफुले जिम्मेवारी लिने बताएका थिए ।

सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम लैजान आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राममा लगिएको निर्देशक अमगाईंले जानकारी दिए । पहिरोमा अभिभावक गुमाएका पाँचदेखि १२ वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल–२ का वडाध्यक्ष लामाले जानकारी दिए । लामाका अनुसार बालग्राम पठाइएकामा छ बालक र एक बालिका छन ।

पहिरोबाट विस्थापित भएर जुगल–१ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयबाट आवश्यक काजगपत्र तयार गरी पिसीआर परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतीका निर्देशक अमगाईं, विनोदमणि भट्टराईलगायतको टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए । गत साउन ३० गते बिहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्षमाथिका पाँच बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने एसओएसका निर्देशक अमगाईँले जानकारी दिए ।

जुगल–२ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेका थिए । दुई जना अझै बेपत्ता छन । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरूको स्थायी बसोबासका लागि पहल भइरहेको राससले लेखेको छ ।