हुम्लामा भारी हिमपात, धारा र खोलाकाे पानी समेत जम्याे

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



हुम्ला, २५ पुस । लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ ।

यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनले भने “यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।”

अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् । निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।