
खाँदबारी, २९ भदौ । लकडाउनको अवधि बढेसँगै सङ्खुवासभामा कृषकले व्यवसायीक खेतीबाट आफ्नो आम्दानी बढाउन थालेका छन । कोरोना भाइरसको सङ्क्रमणले बजार क्षेत्र सुनसान र हिँडडुलमा समस्या भए पनि गाउँमा भने कोरोना सङ्क्रमणले कृषकलाई आफ्नो पेशामा समय दिन साथ दिएको सभापोखरी गाउँपालिका–२ का कृषक मानध्वज राईले बताए ।
स्कूल क्याम्पस सबै बिदा छ । छोराछोरी सबै गाउँमै हुँदा खेतीपातीमा धेरै सहजता आएको भन्दै अहिले आफूसहित सपरिवार खेतबारीमै व्यस्त हुने गरेको जानकारी राईले दिए । आँप, लिची, केरा, कागती, सुन्तला, मेवा, भुइँकटहर लगायतका १०० भन्दा बढी फलफूलको बिरुवा लगाएको राईले बताए । बेसार, अदुवा, सिमीलगायतका सागसब्जी रोपेर आम्दानीको स्रोत बढेको भन्दै कोरोना सङ्क्रमणले लामो समयदेखि आम्दानी नै लिन नसकिएको खेतबारीबाट समेत केही वर्षपछि राम्रो आम्दानी जुटाउन सकिने वातावरण तयार भएको राईको भनाइ छ । राईले परिश्रम, जैविक खानपिन र सरसफाइबाटै कोरोनालाई परास्त गर्न सकिने आत्म वलको कुरा सुनाए । कोरोनासँग डराएरभन्दा श्रम र पसिना बगाउन सके आर्थिक प्रगति हुनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाएर रोगलाई भगाउन सकिने धारणा व्यक्त गरे ।
सभापोखरीका मानध्वज मात्रै होइन, सङ्खुवासभाका धेरै कृषकले लकडाउनको समयमा खेतीपातीबाट राम्रो आम्दानी बढाएका छन । खाँदबारी–४ पाङ्माका दाजुभाइ गङ्गाराज र बलबहादुर कुलुङ राईले समेत लकडाउनले कृषकलाई राम्रो अवसर दिएको बताए । उनिहरुले आफ्नो सात रोपनी र छिमेकीसँग भाडामा लिएको दुई रोपनी गरी नौ रोपनी जग्गामा टमाटर, प्याज, काउली, सागलगायतका तरकारी बाली लगाएका छन । बाह्र वटा टनेलमा दाजुभाइले मिलेर लगाएको टमाटर, सागसब्जीलगायतका फलफूल किन्न उपभोक्ताहरु करेसाबारीमै पुग्ने गरेका गङ्गाराजले बताए ।
रु पाँच लाखको लगानीमा शुरु गरेको तरकारी बाली खरिद गर्न र हेर्नका लागि स्थानीय उपभोक्ता, जनप्रतिनिधिसमेत पुग्ने गरेको र सहयोग गर्ने आश्वासनसमेत दिएकाले व्यवसायिकरूपमा कृषि पेशामा लाग्न थप हौसला जुटेको उनको भनाइ छ । लकडाउनका कारण अन्य जिल्लाबाट तरकारी फलफूल नआउँदा आफ्नो उत्पादनले राम्रो मूल्य र बजारसमेत पाएको बताएका छन् । आफूले वर्षैपिच्छे धान खेती घटाउँदै व्यवसायिक फलफूल र सागसब्जी खेती बढाउँदै लैजाने योजना बनाएको उनले बताए ।
बजारतिर जताततै कोरोना भाइरसको आतङ्क बढेको छ । बाहिर बिनाकाम भौँतारिनुभन्दा कृषिमै समय दिन सकियो भने जीविकोपार्जन र आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ भन्ने कुरामा आफूहरुको विश्वास बढेको कृषक राई बताए । व्यवसायिक कृषिका लागि केही तालिम र सहुलियत ऋणको व्यवस्था हुने हो भने ठूलो सङ्ख्यामा विदेशिएका युवालाई आफ्नै गाउँमा रोजगारी दिलाएर उनीहरुको आयस्तर उकास्न सकिने राईको भनाइ छ ।
यता खाँदबारी–२ चेवाका तेजबहादुर कार्कीले पनि यस वर्ष तरकारी र फलफूल खेतीबाट राम्रो आम्दानी लिएको बताए । केही वर्षअघिदेखि व्यवसायिक तरकारी खेतीमा संलग्न कार्कीले पाँच रोपनी जग्गामा काउली, साग, गाजर, टमाटर, काँक्रो सिमीलगायत सागसब्जी खेती गर्दै आएका छन । अघिल्लो वर्षदेखि नै व्यवसायिक कृषिमा लागेका उनले यस वर्ष कोरोनाका कारण गरिएको लकडाउनको समयमा तरकारी खेतीबाट अघिल्ला वर्षभन्दा राम्रो आम्दानी लिएको बताएका राससले लेखेकाे छ । यातायातको सुविधासमेत थपिएकाले कार्कीले आफ्नो उत्पादन ट्याक्टरमार्फत स्थानीय मानेभञ्ज्याङ र खाँदबारी बजारसम्म बिक्रीका लागि लैजाने गरेको बताए । शारीरिक श्रमसँगै खेतबारीको स्याहारसुसार गर्दा परिवार खुशी रहेको र मासिकरूपमा मल बीउको खर्च कटाएर रु ५० हजारभन्दा आम्दानी गरिरहेको कार्कीको भनाइ छ ।
यस वर्ष सङ्खुवासभाको कृषि उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यले सङ्खुवासभामा कूल खेतीयोग्य जमिन ३१ हजार ५८६ हेक्टरमध्ये १३ हजार ८५१ हेक्टर धान खेतीयोग्य जमिन रहेको जानकारी दिए । गत वर्ष १३ हजार ३९४ हेक्टरमा धान खेती गरिएकामा यस वर्ष थप २७७ हेक्टर गरी १३ हजार ६७१ हेक्टरमा धानखेती गरिएको ज्ञान केन्द्रका प्रमुख आचार्यको भनाइ छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



