भूकम्पले भत्काएका विद्यालय भवनको पुनःनिर्माण तिब्र गतिमा

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौँ, ३० भदौ । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचनाको पुनःनिर्माण तिब्र गतिमा भईरहेको छ । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदाको पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका व्यक्तिगत संरचना र घर पनि पहिलेको अवस्थामा आउने क्रममा रहेका छन ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पका कारण देशभर कोलाहल मच्चियो । ठूलो मानवीय तथा भौतिक क्षति पुग्यो । अहिले भने भूकम्पले ढालेका भौतिक संरचना विस्तारै उठेसँगै भूकम्पको त्रासदीबाट मानिस पनि बाहिर निस्किँदै छन । मानसिकरुपमा बलियो बन्दै गएका छन । नागरिकले अहिले भने त्यो त्रासदीलाई विस्तारै भुल्दै जान थालेका छन । ‘गोरखा भूकम्प’ नाम दिइएको प्राकृतिक विपत्तिबाट आठ हजार ९७० व्यक्तिले ज्यान गुमाएका थिए । १० लाख ७२ हजार ९३ निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर काठमाडौँ, भक्तपुर, ललितपुर र ओखलढुङ्गामा सबैभन्दा धेरै क्षति पु¥याएको थियो ।

नेपालका धेरै क्षेत्रसँगै गोरखा भूकम्पले मुलुकको शैक्षिक क्षेत्रमा पनि ठूलो असर पु¥याएको थियो । ठूलो सङ्ख्याका शिक्षण संस्थाका भवन भूकम्पले ढलाएको थियो । जसका कारण निकै लामो समयसम्म देशको शिक्षा क्षेत्र समस्यामा प¥यो । आफ्ना विद्यालयका भत्किएका भवन देख्दा विद्यार्थीमा पनि मानसिक असर पर्यो । भूकम्प शनिबार गएकोले धेरै विद्यार्थीको ज्यान भने जोगियो । भूकम्पले हाम्रो देशमा धेरैको उठीबास गराए पनि यस कुरामा भने ‘भगवानले हात थापेर हजारौँ बालबालिका तथा शिक्षक शिक्षिकाको ज्यान बचाए’ भने जस्तै भएको छ । तर विद्यालयका भौतिक संरचनामा भने ठूलो क्षति पुग्यो ।

गृह मन्त्रालयका अनुसार गोरखा भूकम्पका कारण देशभर नौ हजार ३५३ विद्यालयका ५५ हजार ३६७ कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये २२ हजार ४०१ कक्षाकोठामा पूर्ण क्षति पुग्नुका साथै ३२ हजार ९६६ कक्षाकोठा आंशिकरुपमा क्षति पुगेको थियो । भूकम्पले शिक्षा क्षेत्रमा मात्र रु ३२ अर्ब बराबरको क्षति भएको थियो । भूकम्पको पाँच वर्ष पूरा भएको छ । उक्त भूकम्पले देशको राजधानी काठमाडौँका विद्यालयमा समेत ठूलो क्षति पुगेको थियो । गोरखा भूकम्पले काठमाडौँमा रहेका २८१ विद्यालयमध्ये १९२ विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले बताए ।

काठमाडौँमा १६७ माध्यामिक विद्यालय र ११४ आधारभूत तथा प्राथमिक विद्यालय रहेका छन । भूकम्पका कारण झण्डै दुई महिना निजी तथा सामुदायिक विद्यालय बन्द रहेका थिए । काठमाडौँमा ११ वटा स्थानीय तह रहेका छन । जसमध्ये काठमाडौँ महानगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका र शङ्करापुर नगरपालिका हुन ।

काठमाडौँका विद्यालय पुनःनिर्माणको जिम्मेवारी भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाले लिएको छ । भूकम्पले क्षति पु¥याएका १९२ विद्यालयमध्ये १२८ पुनःनिर्माण, ३४ रेट्रोफिट र ३० पुनःनिर्माण तथा रेट्रोफिट गर्नुपर्ने भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका इञ्जिनीयर सागर पौडेलले भूकम्पले क्षति पुगेका १९२ विद्यालयमध्ये ८० विद्यालय पुनःनिर्माण सम्पन्न भइसकेको बताए । सम्पन्न भइसकेका विद्यालय हस्तान्तरणसमेत भइसकेको उनको भनाइ छ ।

पुनःनिर्माण भएका ८० विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिको सक्रियतामा ५५ विद्यालयका ५२१ कक्षाकोठा, एशियाली विकास बैंकको ऋण सहयोगमा १३ विद्यालयका २७१ कक्षाकोठा र सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहयोगमा १२ विद्यालयका १३६ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ ।

भूकम्पले क्षति पुगेको विद्यालयमध्ये बौडेश्वर माध्यामिक विद्यालय झोर पनि एक हो । भूकम्पले उक्त विद्यालयका दुईवटै भवनमा क्षति पु¥याएको थियो भने अर्को एक भवन बन्दै थियो । भूकम्पले विद्यालय भवन भत्काएपछि पढाई सञ्चालन गर्न निकै समस्या परेको विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारीले बताए । एक रोपनी ११ आना क्षेत्रफलमा रहेको बौडेश्वर माविले पुनःनिर्माणमा भने निकै समस्या झेल्नुपरेको थियो ।

भूकम्पले विद्यालयका सबै भवन भत्कियो, एकातिर विद्यार्थीलाई छाप्रोमा राखेर पढाउनुपर्ने, अर्कोतिर रकम छरिएर आउँदा विद्यालय पुनःनिर्माणको काम तीव्रगतिमा गर्न नपाउँदा समस्या झेल्नुपर्यो, उनले भने । विद्यालय व्यवस्थापन समितिको सक्रियतामा निर्माण गरिएको उक्त विद्यालय पुनःनिर्माणका लागि भूकम्प पुनःनिर्माण प्राधिकरण शिक्षा शाखाले रु ६५ लाख, वाग्मती प्रदेश सरकारले रु २० लाख र टोखा नगरपालिकाले रु १४ लाख सहयोग गरेको थियो । रु एक करोड १५ लाख हाराहारीमा सम्पन्न भएको उक्त विद्यालय पुनःनिर्माणको बाँकी रकम टोखा नगरपालिका–१ ले सहयोग गरेको थियो ।

काठमाडौँका ६० विद्यालय पुनःनिर्माणको चरणमा रहेका छन । जसमा ४० विद्यालय विद्यालय व्यवस्थापन समिति, १० विद्यालय एशियाली विकास बैंकको ऋण सहयोग, तीन विद्यालय सरकारी तथा गैरसरकारी संस्था, चार विद्यालय भारतीय राजदूतावास, एक विद्यालय चीन सरकार र दुई विद्यालय युएसआइडीमार्फत पुनःनिर्माण हुँदैछन ।

जसमा भारतीय राजदूतावासले कान्ति भैरव माध्यामिक विद्यालय डाँछी, धापासी मावि धापासी, विष्णुदेवी मावि तीनथाना र चम्पादेवी मावि दक्षिणकाली निर्माण गर्दैछ । यस्तै चीन सरकारले दरबार हाइस्कुल, युएसएआइडीले कन्या मावि न्हौख्या र भगवती मावि साँखु निर्माण गर्दैछ । यसैगरी काठमाडौँका ४३ विद्यालय रेट्रोफिटिङ गर्नुपर्ने भए पनि २१ विद्यालय रेट्रोफिटिङ हुँदैछ । काठमाडौँका २५ विद्यालय पुनःनिर्माण गर्न आवश्यक रहे पनि पाँच विद्यालयमा भने हालसम्म कुनै कार्यक्रम परेका छैनन ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिीर नगरपालिकामा भूकम्पले २४ सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । जसमध्ये १९ विद्यालय पुनःनिर्माण भइसकेका छन । पुनःनिर्माण हुन बाँकी रहेकामध्ये तीन विद्यालय रेट्रोफिटिङ गर्नुपर्नेछ । यस्तै भैरवनाथ आधाभूत विद्यालय बोतीगाउँ र सेतीदेवी आधारभूत विद्यालय मातातीर्थ भवन पुनःनिर्माण गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख, उपसचिव कर्णबहादुर भुवाजीले भूकम्पबाट क्षति पुगेका विद्यालय, नेपाल पुनःनिर्माण प्राधिकणअन्तर्गत रहेको जिल्ला कार्यान्वयन इकाइ शिक्षाले गर्ने भएकाले भवन निर्माणमा हुने पारदर्शीताबारे नगरपालिकालाई थाहा नहुने बताए । सरकारले आगामी दिनमा यस्तै क्षति व्यहोर्नुपरेको खण्डमा विगतमा गरेका कमीकमजोरीलाई सच्याएर एकद्वार प्रणाालीमार्फत बजेट विनियोजन गरेर पुनःनिर्माण सम्पन्न गरेको खण्डमा सहज हुने देखिन्छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प गएको पाँच वर्षमा शैक्षिक संस्था पुनःनिर्माणमा प्राधिकरणले महत्वपूर्ण प्रगति हाँसिल गरेको बताएका राष्ट्रिय समाचार समितिले लेखेको छ ।