शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनायो

- नागरिकलाई शिक्षा आर्जन गर्ने राम्रो अवसर

-



     सुशीला रेग्मी    
     असाेज १ गते २०७७ मा प्रकाशित



रामपुर, १ असाेज । पूर्वी पाल्पाको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनाएको छ । विद्यालयको पढाइ सकेका अधिकांश छोरी–बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएको कारण यसले ‘बुहारी–आमा’ क्याम्पसका रूपमा आफ्नो चिनारी बनाएको हो । जहाँ भर्ना भएका कूल विद्यार्थी मध्ये ८१ प्रतिशत विद्यार्थी छात्रा रहेका छन् । तीमध्ये पनि अधिकांश बुहारी तथा आमा बनिसकेका छन ।

स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन गर्दै आएको क्याम्पसका अधिकांश विद्यार्थी छोरी, बुहारी र आमाहरु छन भने स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीमा धेरैजसो बुहारी र आमा नै भेटिन्छन । विसं २०४६ को जनआन्दोलनपश्चात गण्डकबेँसीका नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न स्थानीयवासीको जोडबलमा चन्दा उठाएर क्याम्पस सञ्चालनमा ल्याइएको थियो । साविक रामपुर गाउँ विकास समितिको मातहतमा रहेको ५० रोपनी सार्वजनिक जग्गामा क्याम्पस सञ्चालन गरिएको हो ।

मानविकी सङ्कायको प्रविणता प्रमाणपत्र तहको मात्र पठनपाठन शुरु भएको क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मकै पठनपाठन हुने गरेको छ । क्याम्पसबाट पूर्वी पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकलाई शिक्षा आर्जन गर्ने राम्रो अवसर मिलेको छ । विशेषतः गाउँघरमा पुरानो सोचाइ र संस्कारले गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि तत्कालीन समयमा छोरी तथा बुहारीलाई उच्च शिक्षाका लागि अन्यत्र नपठाउने चलन थियो । गाउँघरमा क्याम्पस नभएपछि छोरी–बुहारीलाई बाहिर राखेर शिक्षा दिनुपर्छ भन्ने सोचाइ त्यस समयमा कमैले राख्थे । अर्को कुरा बाहिर शहरबजारमा बसेर पढ्न आर्थिक समस्याले गर्दा पढ्ने मन हुँदाहुँदै पनि बीचमै पढाइ छाड्नुपर्ने बाध्यता धेरैको थियो ।

रामपुरमानै क्याम्पस तहको पठनपाठन शुरु भएपछि गण्डकीबेँसीका धेरै नागरिकले सहजरूपमा शिक्षा आर्जन गर्ने अवसर पाएका हुन । अहिले नै पनि बुहारी तथा आमाहरुले स्नातक तथा स्नातकोत्तर तहको शिक्षा आर्जन गर्ने चाहना राखे पनि विभिन्न बाधा व्यवधानले गर्दा अन्यत्र पढ्न पठाउने चलन कमै छ । घरायसी कामधन्दा, बालबच्चाको स्याहारसुसार गरेर केही समय क्याम्पसको पढाइमा दिएर शैक्षिकस्तर उकास्न बुहारी तथा आमा कस्सिएका छन । रामपुर नगरपालिका वडा नं ७ बस्ने गीता पौडेलले दुई सन्तानको रेखदेखसँगै गाउँमा नै स्नातकोत्तर तहसम्मको पढाइ सकेकि छन । गाउँमै स्नातकोत्तर तहसम्मको पठनपाठन भएपछि आफूले स्नातकोत्तर तह पढ्ने इच्छा पूरा गर्न पाउँदा उनि खुशी छन ।

रामपुर नगरपालिका–४ खोप्टार बस्ने देवी रिमालले घरमा बच्चाको रेखदेख गर्ने मान्छे नभएको समय आफँैले क्याम्पसमा साथमै लिएर कक्षा लिन जाने गर्छिन । उनि भन्छिन, गाउँमै क्याम्पस सञ्चालन भएपछि परिवारका सदस्य कहिलेकाहीँ अन्यत्र गएको समयमा पनि बालबच्चालाई लिएर भए पनि कक्षा लिन पाइएको छ । सबैभन्दा ठूलो कुरा हामी बुहारी आमाहरुलाई पढ्ने वातावरण मिलेको छ, हामी शिक्षित भयौँ भने छोराछोरीको भविष्य राम्रो बन्नेछ भन्ने लाग्दछ ।

कक्षामा आफू साथमा नै छोरालाई राखेर पढिरहेको देख्दा प्रध्यापकहरुमा पनि खुशीयाली छाएको छ । बालबच्चा र घरायसी कामलगायत विविध समस्याले बाहिर गएर पढ्ने चाहना राखेपनि झट्ट पढ्न जाने वातावरण सहज नहुँदा बुहारी तथा आमालाई समस्या पर्ने गरेको छ । घरबाटै बुहारी क्याम्पस पढ्न गएको देख्दा सासु–ससुरा तथा परिवारका सदस्य निकै खुशी छन । हिजोका दिन छोरी–बुहारीलाई शिक्षा दिन पछि हट्ने समुदाय तथा परिवार अहिले भने समय मिलाएर पढ्नुपर्छ भन्ने धेरैमा परिवर्तन आएको पाइएको छ । बुहारी बिहान उठेर क्याम्पस पढ्न गएको देख्दा पनि रमाइलो लाग्ने गरेको कुलप्रसाद गौतम बताउँछन । छोराले बरु धेरै पढेनन तर बुहारीले स्नातकोत्तर तह पढ्न थालेपछि परिवारमा खुशीयाली छाएको उनले बताए ।

कुनै समय छोरी बुहारीलाई पढाउनुपर्छ भन्ने सोचाइ नराख्ने हाम्रो समाजमा अहिले छोरी–बुहारी तथा आमा विद्यार्थी नियमित कक्षामा सहभागी भएर पढिरहेको देख्दा राम्रो लागेको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले बताए । पढ्ने चाहना भएकाले घरायसी काम गरेर भए पनि इच्छा पूरा गरिरहेका छन भने पछिल्लो समय स्नातकोत्तर तह पढ्ने समाजमा कमै भेटिन्थे भने अहिले धेरै रहेका छन । त्यसमा पनि हामीकहाँ स्नातकोत्तर तहमा बुहारी तथा आमा समूहको बर्चस्व छ, उनले भने ।

विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपाली विषयका कक्षा शुरु गरियो । विसं २०५५ मा तत्कालीन उच्च माध्यमिक शिक्षा शुरु गरियो । विसं २०६० मा स्नातक तहमा शिक्षा सङ्काय विषय, विसं २०६६ मा व्यवस्थापन र विसं २०६७ मा स्नातकोत्तर तह शुरु गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ ।

हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्वविद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्काय, स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायतर्फको नेपाली शिक्षा र शिक्षा योजना तथा व्यवस्थापन विषय सञ्चालन भइरहेको छ । हाल क्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।