यस्तो छ नेपाल आउने रेल

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । सरकारले भारतमा निर्मित नया रेलकाे बडी र इन्जिन ल्याउने भएकाे छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि उक्त रेल सेट आज शुक्रबार नेपाल आइपुग्दैछ ।

लामो समयदेखि बन्द नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइने भएको हो । यसरी ल्याइने रेल विशेष रूपमा डिजाइन गरिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको बताए ।

दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उनले बताए ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गकाे भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किमी समेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ ।

त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसदमा अहिले रेलसम्बन्धी विधेयक छलफलका क्रममा छ।

रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ । यो रेल एक अर्बको लागतमा खरिद गरिएको हो।

नेपाली रेलको सेट भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको भने आपूर्तिकर्ता कम्पनी कोंकण रेल कर्पोरेसन कम्पनी लिमिटेड हो ।

तस्वीरहरुः बलराम मिश्र, रेल विभाग