व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउन उद्योगी व्यवसायीको माग

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



पोखरा, १९ असोज । गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवनरक्षा कोष तत्काल प्रयोगमा ल्याउनुपर्नेमा पोखराका उद्योगी व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गर्दै सो माग गरेको हो ।

संघ अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको गुनासो गरे । उनले भने, ‘मृत्युपछि ओखतीको काम हुँदैन । कोष तत्काल कार्यान्वयनमा आउनुपर्ने संघको माग रहेको छ ।’

उनले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ को मौदिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए ।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग व्यवसायले गति लिन नसकेको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सृजना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा भएको बताए ।

यसैबीच, संघले गत वर्ष आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १२ लाख ४२ हजार बचत हुने अनुमान गरेको छ ।

अध्यक्ष दामु अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार गरी ९८ लाख २३ हजार आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा बचत रकम कम भएको उनले बताए ।

संघले २०७६ पुस १८ देखि २८ गतेसम्म समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ आयोजना गरेको थियो ।