प्रदेश ५ को राजधानी र नामाकरण प्रस्तावमा आज मतदान, दलद्वारा पक्ष विपक्षमा मतदान गर्न ह्वीप जारी

-



     सफल आवाज    
     असाेज २० गते २०७७ मा प्रकाशित



रूपन्देही, २० असोज । प्रदेश नं ५ को राजधानी र नामाकरणको प्रस्तावमा आज प्रदेशसभा बैठकमा मतदान हुँदैछ । यसका लागि सरकार पक्षिय तथा विपक्षी दल भने आआफ्नो रणनीतिमा लागेका छन् ।

स्थायी राजधानी दाङको देउखुरी नामाकरणको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । नेपाली कांग्रेस प्रदेश नं ५ को राजधानी बुटवलमै राख्ने पक्षमा रहेकोले सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । यस्तै नेकपाको संसदीय दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

मध्यान्ह १२ वजे बैठक डाकिएको छ । मतदानको विधिबाट स्थायी राजधानी नामाकरण र प्रदेशकाे नामका विषयमा टुंगाे लाग्ने भएकोले कांग्रेसले सांसदहरुलाई प्रस्तावकाे विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

यसअघि प्रदेश सरकारले निर्णय गरेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेका थिए । सोमबार प्रस्तावमाथिको छलफलमा मन्त्री केसीले कांग्रेस सांसदको विरोधकाबीच सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

यसैबीच, प्रदेशसभा सचिवालयले बिहान जनता समाजवादी पार्टीले प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरणको माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको जनाएकाे छ ।

प्रदेशसभाका नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले बैठकमा संशोधन दर्ता गराएकाहरुलाई बोल्नका लागि समय दिईने बताएका छन । शुरुमा उनीहरुले बोलेपछि स्थायी राजधानीको नामाकरण र प्रदेश नामको लागि लागि मतदान प्रक्रियामा जाने बताईएको छ । ढकालका अनुसार बैठकबाट प्रस्ताव दुई तिहाईले पास हुनेछ