
लेखनाथ, १३ भदौ : लेखनाथमा रहेको बेगनास ताल वरपरका होटलमा हिजोआज विदेशी पर्यटक निकै घटेका छन् । बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटकहरु लगभग शून्य भएपछि व्यवसायीहरुलाई होटल सञ्चालनमा कठिनाई हुन थालेको छ ।
केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको व्यवसायीहरुको भनाइ छ । विदेशी पर्यटकमा कोरोनाको त्रास अझै नहटेकाले उनीहरु आउन डराएको र कोरोनाकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम अगाडि ल्याउनुपर्ने व्यवसायीको बुझाई छ ।
बेगनास ताल नजिकै रहेको ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, “नेपालमा विदेशी पर्यटक भित्र्याउन सरकारले केही न केही पहल गर्नु नै पर्छ । बिदाका दिन केही मात्रामा नेपाली पर्यटक आउने गरेको भए पनि त्यसले होटल धानिने अवस्था छैन ।”
उनका अनुसार सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम सुरु भएको छ । एक–दुई जना कर्मचारी र आफैंले पनि पाउनालाई सेवा दिँदै आएका छन् तर यतिले बैंकको ब्याज तिर्न सक्ने अवस्था भने छैन ।
‘घरजग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका छौँ, किस्ता र ब्याज तिर्न नसक्दा समस्यामा छौँ’, होटल तथा रेष्टुराँ एशोसिएशन लेखनाथका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले भने, ‘व्यवसायीलाई राहत हुने गरी सरकारले ब्याज मिनाह गर्नुपर्छ ।’
घर भाडामा लिएर होटल सञ्चालन गर्ने कही व्यवसायी विस्थापित भइसकेका र आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई जना कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका व्यवसायीहरु बताउँछन् ।
‘भिजिट नेपाललाई लक्षित गरी लगानी बढाएकोमा कोरोना सङ्क्रमणका कारण बैंकको ब्याज तिर्न कठिन भएको छ’, होटल तथा रेष्टुराँ व्यवसायी अर्जुन लम्सालले भने, ‘सरकारले व्यवसायीलाई राहतका प्याकेज ल्याउनुपर्छ ।’
उनका अनुसार लेखनाथमा दुई सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा रहेको र तीमध्ये एशोसिएशनमा आबद्ध भने एक सय पाँच ओटा रिसोर्टदेखि साना होटलसम्म छन् । यहाँका व्यवसायीले पर्यटक देख्न नपाएको तीन वर्ष भएको र आन्तरिक पर्यटक भने फटफुट आउने गरेकाले जेनतेन धानिएका बेगनासस्थित न्यू थकाली भान्साघरका सञ्चालक नितेश लालचनले बताए ।
बेगनासतालमा पाइने विभिन्न जात सहर, रहुँ, असला, नैनी, कमन, माहुर, तिलपियालगायतका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । सात तालको बगैँचा सहरको रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका बेगनास तालका होटल व्यवसायी चित्रबहादुर गुरुङले जानकारी दिए ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंक लिमिटेडले भिसा इन्टरनेशनलले प्रदान गर्ने दुई विधामा अवार्ड जितेको… 



