
काठमाडौँ, २१ असोज । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ छ ।
कामपा राजश्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व सङ्कलनमा पारदर्शी नभएको कामपालाई आरोप रहेकाे बताउँछन । यो प्रणालीको कार्यान्वयनले त्यो आरोपको जवाफ दिएको बताए । यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीको व्यवस्थापन र पारदर्शी बनाउन सहयोग पुगेको भन्दै निर्देशक अधिकारीले सेवाग्राहीलाई पनि सहज भएको बताए । यो प्रणाली साङ्ग्रिला इन्फरमेटिक्सले विकास गरेको हो ।
यही असोज १ गतेदेखि वडा नं १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा नं ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइयो । यसैगरी असोज १३ गतेदेखि वडा नं ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइयो । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ ।
करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजश्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो ? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धि भएकाे राससले लेखेकाे छ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



