अनुमति पाएसंगै प्रभुको नयाँ हेलिकप्टरको उडान शुरु

-



     सफल आवाज    
     असाेज २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ असोज । प्रभु हेलीकप्टर प्रालीले नयाँ हेलिकप्टरबाट उडान सेवा शुरु गरेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणबाट शुक्रबार उडान अनुमति पाएसंगै उडान शुरु गरेको हो । नयाँ हेलिकप्टरले पहिलो काठमाडौं–हेटौंडा रेस्क्यू उडान गरेको डेपुटी जनरल म्यानेजर नोबलकुमार राजलवटले जानकारी दिए ।

नयाँ हेलिकप्टरको राम्रो विशेषता हाइअल्टिच्यूडमा राम्रोसंग उडान गर्न सक्ने हो । नयाँ एयरबस हेलीकप्टर एच १२५ एएस ३५० बी ३ ई ले नेपालका उच्च हिमाली तथा पहाडी क्षेत्रमा उडान गर्नेछ । राजलवटका अनुसार नयाँले २३ हजार फिटसम्म सजिलै ल्याण्ड गर्छ । आईतबार पहिलो उडान रेस्क्यूको भयो भने आज हामीले गोसाईकुण्ड, लाङटाङ हिमाली क्षेत्रको उडान गर्याैं । कम्पनीले थप उडानका गन्तव्यहरु बढाउन लागेको राजलवटले सफल आवाजलाई बताए ।

प्रभु हेलिकप्टर प्रालीका फाईनान्स अफिसर रञ्जित श्रेष्ठले नयाँ एउटा हेलिकप्टर थपिएसंगै प्रभुका हेलिकप्टरहरु ६ वटा भएको बताए । हामी स्थापना भएको पाँच वर्ष भयो । पहिले पाँच वटा हेलिकोप्टरबाट उडान सेवा दिदैं आएकोमा अब ६ वटा भएका छन्, उनले भने याे समयकाे माग हाे।

कल साइन ९ एन(एनएलई रहेकोे हेलिकप्टरको सिट क्षमता यात्रु पाँच र चालक एक गरी ६ रहेको छ । प्रभु हेलिकप्टरले पोखरादेखि अन्नपूर्ण तथा माछापुच्छ्र्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, राराको उडान गर्दै आएको छ । काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोक लगायतका स्थानमा उडान गर्दै आएको छ । यस्तै उच्च हिमाली, पहाडी भूभागको दृश्यावलोकन, पर्यटकिय क्षेत्र, धार्मिक सांस्कृतिक क्षेत्र र आकस्मिक उद्धारको लागि हेलिकप्टर सेवालाई निरन्तर जारी राखेको बताएको छ ।