आगामी वर्ष विद्युत शुल्क घटाउछाैं : ऊर्जामन्त्री पुन

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ असोज । ऊर्जा, जलस्रोेत तथा सिन्चाइमन्त्री वर्षमान पुनले आगामी वर्षमा विद्युत शुल्क घटाउने बताएका छन् । सरकारले ऊर्जा क्षेत्रको अध्ययन गरी नीतिगतरुपमा आवश्यक तयारीका लागि गठन गरेको उच्चस्तरीय कार्यदलले काम शुरु गरिसकेको पुनले बताए ।

मन्त्रालयमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकमा ऊर्जामन्त्री पुनले आगामी वर्ष पनि विद्युत शुल्क घटाइने जानकारी दिदैं इतिहासमै पहिलोपटक चालु आवमा विद्युत प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको बताए । उनले भने, आगामी वर्ष थप सस्तोमा विद्युत उपलब्ध गराइने छ । खिम्ती जलविद्युत आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व सरकारमा आएको छ ।

हिउँदभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युुत उत्पादन शुरु हुने भएकाले सस्तोमा बिजुली दिन सकिने उनको भनाइ थियो ।

खिम्तीको ५० प्रतिशत स्वामित्व सरकारको नाममा आएको छ । माथिल्लो तामाकोशीको उत्पादन हिउँदमै हुने भएकाले आगामी वर्ष फेरि विद्यतत महशुल घटाइने बैठकमा मन्त्री पुनले दोहोर्याए । सरकार गठन भएपछि ऊर्जा दशक कार्यक्रमअन्तर्गत घोषणा गरिएको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य हासिल गर्नेगरी काम भइरहेको बताए ।

सरकारी र निजी क्षेत्रको लगानीमा १५ हजार मेगावाट विद्युतको उत्पादन सजिलै हुन्छ, बजारको पनि समस्या नरहेको स्पष्ट पार्दै कूल १० हजार मेगावाट विद्यत आन्तरिक र पाँच हजार मेगावाट बाह्य बजारमा पठाउने गरी नीतिगत तयारीकासाथ काम अघि बढेको बताए ।

इन्डक्सन चुलो, एसी र विद्युतीय सवारीको प्रयोगले विद्युत खपत बढेको छ, मन्त्री पुनले भने औद्योगिक क्षेत्र र कृषि मिटरका लागि ठूलो परिमाणमा विद्युतको माग आएको छ, १० प्रतिशत जनसङ्ख्यामा अझै विद्युती पुग्न बाँकी रहेको भन्दै मन्त्री पुनले बजारको समस्या नरहेको दाबी गरे ।

मन्त्रिपरिषद्को गत भदौ १९ गते बसेको बैठकले ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी नीतिगत सुझाव पेश गर्न कार्यदल बनाएको थियो । ऊर्जा, जलस्रोेत तथा सिञ्चाइमन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.राज कँडेल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

कार्यदललले जलविद्युत उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाह्य बजारको अवस्था, उपभोग र खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्युतको परिणाम, हाल उपलब्ध विद्युत र निर्माणाधीन विद्युत आयोजनाको समेत अध्ययन गरी नीतिगत सुझाव पेश गर्ने जिम्मेवारी पाएको छ । कार्यदलले पेश गर्ने सुझावका आधारमा मन्त्रिपरिषद्ले आवश्यक नीति तय गरी कार्यान्वयनमा ल्याउने छ ।

हाल अर्थ मन्त्रालय मन्त्रीबिहीन रहेको कारण बाँकी तीन सदस्यको बैठक बसेको हो । कार्यदल बैठकमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना, वाणिज्य सचिव वैकुण्ठ अर्याल, ऊर्जा सचिव दिनेशकुमार घिमिरे र ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्याल आमन्त्रित सदस्यका रुपमा उपस्थित भएका थिए । बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई कार्यदलको सदस्यसचिव तोकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले औद्योगीकरणलाई प्राथमिकतामा राखेको र झापाको दमक, मकवानपुरको मयुरधाप, काभ्रेको पनौती, गोर्खाको च्याङ्ली, तनहुँको चिन्तुटार, चितवनको शक्तिखोर, बाँकेको नौ बस्ता, डुडेझारी र कञ्चनपुरको दैदीलगायतका स्थानमा नयाँ औद्योगिक क्षेत्र निर्माण हुन लागेकाले विद्युतको माग बढ्ने बताए ।

उनले विद्युत उत्पादन र खपत बढाउने बाउँदै पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्दै जाने नीतिअनुसार दुई मन्त्रालयकाे समन्वय गरेर काम गर्नुपर्ने बिचार व्यक्त गरेका राष्ट्रिय समाचार समितिले लेखेको छ ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले विद्यत उत्पादनसँगै खपत बढाउन प्रसारण लाइनलगायत पूर्वाधार निर्माणमा विशेष ध्यान केन्द्रित गरेर काम भइरहेको बताए । डिजेल प्लान्टका कारण वातावरण प्रदूषण बढेकाले भारत बङ्गलादेशले नेपालबाट स्वच्छ ऊर्जा आयात गर्न चाहेको उनको भनाइ थियो ।