बैतडीमा केन्द्रबारे विवादमा गाउँपालिका अध्यक्षसहित १४ घाइते

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



बैतडी, २९ असोज । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपीट भएको छ । गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट लागेको हो । झडपमा १४ जना घाइते छन् ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिनअघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि संघर्षरत पक्षले लगाएको ताला बेलुका खोल्न खोज्दा उनी झडपमा परेका हुन् ।

यस्तै झडपमा अन्य ५ जना प्रहरी घाइते छन् । संघर्षरत पक्षका ६ जना घाइते भएका छन् । अध्यक्ष बिष्टसँग रहेका अन्य तीनजना घाइते भएको सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ ।