राष्ट्र बैंककाे स्वर्ण जयन्ती बगैंचा निर्माणकाे ठेक्का बिजी कन्ट्रक्सनलाई

-



     सफल आवाज    
     असाेज ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले स्वर्ण जयन्ती बगैंचाकाे मर्मत, निर्माण रंगरोगन लगायतका भाैतिककामको लागि बि.जी कन्ट्रक्सनलाई स्वीकृत गरेको छ ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग पूर्वाधार विकास महाशाखाले प्रकाशन गरेको सूचनामा बि.जी कन्ट्रक्सन, कोटेश्वर ३२ काठमाडौंले पेश गरेको सीलबन्दी दरभाउ पत्रलाई स्वीकृत गरिएको जनाईएको छ ।

अब बि.जी कन्ट्रक्सनले बैंकको वालुवाटार परिसरको पूर्वतर्फ रहेको स्वर्ण जयन्ती बगैंचामा वाटर फलसहितको ढुंगेधारा जडान गर्ने, भित्ताहरु मर्मत गरी रंगरोगन गर्नेछ । बगैंचामा वत्तिहरुको सजावटको व्यवस्था गर्ने लगायतका काम गर्ने भएको छ ।

यसका लागि रीतपूर्वक प्राप्त भएका सीलबन्दी दरभाउ पत्रमध्ये बि.जी कन्ट्रक्सनले पेश गरेको ११ लाख ९४ हजार असी र पैसा चारको सीलबन्दी दरभाउपत्र न्यून मूल्यांकन र प्रभावग्राही भएकोले स्वीकृत गरिएको जनाइएको छ ।

राष्ट्र बैकले उक्त कार्यका लागि २०७६ असोज ६ गते प्रथम पटक सूचना प्रकाशित गरेको थियो ।