रेबान पोखराको अध्यक्षमा बराल निर्वाचित

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



पोखरा, १ कार्तिक । रेष्टुरेन्ट तथा बार एसोशियसन नेपाल (रेबान) पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न १४औं अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको बताइएकाे छ ।

रेबानकाे निवर्तमान अध्यक्षमा भीमसेन भुजेल, प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ, सचिवमा भीष्मराज पौडेल, सहकोषाध्यक्षमा रोशनजंग कार्की चयन भएका छन् ।

सदस्यहरुमा दोर्जे लामा, योगेश भट्टराई, वसन्त गौतम, राजेन्द्र ढकाल, वैभव पौडेल र वीरेन शेरचन निर्वाचित भएका छन ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा(रेबान)को २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार गरेका थिए ।

साे अवसरमा कोभिड–१९को असरले पर्यटन क्षेत्रमा ठूलो नोक्सान पारेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी दिएका थिए । स्वास्थ्य सतर्कताप्रति ध्यान दिएर अब आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र चलायमान गराउनुको विकल्प नभएको उनको भनाइ थियो ।