महिलाले नेतृत्व गरे पारदर्शिता, जबाफदेहीता र सफलता प्राप्त हुन्छ : सांसद थापा

-



     आरजू विष्ट सल्यानी    
     पौष ८ गते २०७७ मा प्रकाशित



पोखरा, ८ पुस । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले राज्यका हर निकायमा सक्षम महिला नेतृत्वको खाँचो भएको बताएका छन् । जहाँ महिलाले नेतृत्व गर्छन् त्यहाँ पारदर्शिता, जवाफदेहीता तथा कामहरु सफलतापूर्वक सम्पन्न हुने गरेको आफुले पाएको बताए ।

‘संक्रमणकालिन न्यायको लागि द्वन्द प्रभावित महिलाहरुको पहुँच’ विषयक गण्डकी प्रदेशस्तरीय कार्यशालाको आज पोखरा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद थापाले द्वन्दकालिन समयका घाउहरु अझैं पनि निको नभएकोमा दुःख लागेको बताउँदै राज्य यसका लागि पूर्ण रुपमा जवाफदेही बन्नु पर्ने बताए । उनले भने, महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु पर्नेमा जोड दिए ।

समाजमा अझैं द्वन्दबाट प्रभावित भएका, एकल तथा विभिन्न परिस्थितिले एकल भएका महिला, विभेद तथा उत्पिडनमा परेका महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउनु दुखद् पक्ष भएको बताउँदै सांसद थापाले महिलालाई सबैभन्दा पहिले आत्मनिर्भर बनाउन आवश्यक भएकोमा जोड दिए । थापाले भने, महिला दिदिबहिनीहरू अब उद्यमशिलतामा लाग्नुपर्छ, सरकारले अहिले विनाधितो कर्जा उपलव्ध गराईरहेको छ, तपाँईहरु उद्यामशिल बन्न अग्रसर हुनुहोस् यसमा आवश्यक परेको सहजिकरण हामी गर्छौं ।

सांसद थापाले प्रदेशको राजधानी पोखरामा महिला तथा द्वन्दपिडित महिलाहरुको आफ्नै भवन नभएको र यसका लागि प्रभावित महिलाहरुले आवाज उठाईरहेको थाहा पाएपछि आफ्नो तर्फबाट भवन निर्माणको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा वडा नं ३० का वडा प्रतिनिधि तथा द्वन्दपिडित परिवारका सदस्य रमा नेपालीले बितेका १४ वर्षदेखि हाम्रो मन रोईरहेको बताउँदै प्रदेश सभामा द्वन्दपिडित महिला, एकल महिलाका लागि सरकारले के कस्ता कार्यक्रम ल्याएको छ वा छैन, छैन भने किन उपेक्षा गरिएको हो प्रश्न उठाउन आग्रह गरिन ।

राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत टंक खनालले एकल महिला, द्वन्द पिडित, उचनिचमा परेकाहरु सबैलाई सूचनाको अधिकारबाट बन्चित गर्न नहुने बताए । उनले पिडित परिवारका सदस्य, महिलाले सूचनााको अधिकार पाउनु पर्ने, पहिचान, स्थानिय सरकारका काममा समान सहभागिता खोजेकोले स्थानिय सरकारले अग्रसरता लिनुपर्ने बताए ।

संकल्प संस्थाका दुर्गा न्यौपानेले धेरै संघर्ष गरेर एकल महिलाले रातो पहिरण पहिरीएर हिड्न पाएको बताउँदै, केहि परिवर्तन महिलाको पक्षमा भएपनि धेरे हुन बाँकी रहेको बताइन । उनले महिला, एकल तथा द्वन्द पिडितको आन्दोलन जारी रहेको पनि बताईन । महिलाले मात्रै महिलाका आवाज उठाउनु पर्छ भन्ने छैन, उनले भनिन् पुरुषले पनि महिलामाथिका हरप्रकारका हिंसा, उत्पिडन र द्वन्दका घाउहरु निको बनाउन सहयोग गर्नुपर्छ ।

शान्तिका लागि नागरिक समाजको संजाल कास्कीका संयोजक विष्णुप्रसाद वरालले सबै खालका द्वन्काद घाउहरुलाई निको पार्नका लागि राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले राज्य त जिम्मेवार भएन भएन, स्वयं द्वन्दपिडित महिला, परिवारका सदस्य तथा एकल महिलाहरु अहिले मतमतान्तरमा रहेकाले समस्या भएकाे बताए । सबै खालका पिडितहरु पार्टी लाईनमा गएकोले समस्या यथाबत रहेको उनकाे भनाइ थियाे ।

कार्यक्रममा कोशिस नेपालका जमूना शर्मा, मनाव अधिकारका लागि महिला एकल महिला समूह कास्कीका अध्यक्ष जुना केसी, द्वन्दपिडित परिवारकी सदस्य स्याङ्जा पुतलीबजारकी हिरामती शाही, बाग्लुङकी जशोदा शर्मा, नवलपुरकी अमृता सिग्देल, पवर्तकी मनरुपा शर्माले द्वन्द तथा अन्य अवश्थाले एकल भएकै कारण घरमा, समाजिक, आर्थिक, सांकृतिक लगायतका हरेक क्षेत्रमा अछुतको जस्ताे व्यवहार गरिएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले ‘द्वन्द प्रभावित महिला र एकल महिलाहरुको लागि संक्रमणकालिन न्यायको लागि द्वन्द प्रभावित महिलाहरुको पहुँच’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । मानव अधिकारका लागि महिला, एकल महिला समूह परिवार गण्डकीले कुर्भे संस्थाको समन्वयमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष प्रमीला तझ्याले गरेकी थिइन ।