आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

-



     सफल आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित



सियोल, १० मङ्सिर । उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिनुभएको छ ।

आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणविक नीति थप सुदृढ बनाउने सङ्केतका रूपमा किमले बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा यस्तो निर्देशन दिनुभएको हो ।

सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार उहाँले आधुनिक युद्धमा सामरिक आणविक हतियारको महत्त्व र शत्रु राष्ट्रसँग सीमा जोडिएको अवस्थालाई ध्यानमा राख्दै विभिन्न सैन्य प्रयोजनमा तिनको प्रयोग गर्न सकिने क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।

किमले आणविक नीतिलाई राज्यको सार्वभौमिकताको प्रमुख आधार बताउँदै आफ्नो आणविक क्षमता वास्तविकता बनिसकेको उल्लेख गर्नुभयो । उहाँले अमेरिकाले दक्षिण कोरियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी प्राप्त गर्न प्रोत्साहित गरेको आरोप पनि लगाउनुभयो ।