अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

-



     सफल आवाज    
     मंसिर ६ गते २०८३ मा प्रकाशित



वासिङ्टन, ६ मङ्सिर । अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो ।

अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ । यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय–समयमा देखिँदै आएको छ ।

बजार विश्लेषकहरूका अनुसार सेयरको मूल्य अत्यधिक बढेर वास्तविक आर्थिक अवस्थाभन्दा माथि पुगेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ । लगानीकर्तामा अत्यधिक उत्साहका कारण सेयरको मूल्य अस्वाभाविक रूपमा बढेमा बजार सुधारले त्यसलाई यथार्थपरक स्तरमा ल्याउन भूमिका खेल्न सक्छ ।

तर बजारमा आएको यस्तो गिरावटले तत्काल लगानीकर्तामा चिन्ता र अनिश्चितता बढाउने गरेको छ । विशेषगरी बजार सुधारपछि थप ठूलो गिरावट आउने अर्थात् ‘बियर मार्केट’ सुरु हुने हो कि भन्ने आशङ्का लगानीकर्तामा रहने गर्छ ।