
इलाम, १ पुस । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ ।
दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिकरूपमा गाईपालनमा लागेका किसानलाई समस्या भएको छ । एकातिर किसानले उत्पादन गरेको दूध खेर गइरहेको छ भने अर्कातिर पारिवारिक खर्च टार्न धौधौ भएको छ । दूध बेचेरै परिवार चलाउने किसानलाई अब गुजारा गर्न गाह्रो भएको छ । “दुई वटा गाईको झण्डै पन्ध्र लिटर दूध बेच्थेँ । अहिले दूध नबिक्दा समस्या भएको छ”, सन्दकपुर गाउँपालिकाका किसान बालकृष्ण खनालले भने।
विराटनगर आयोजनाले दैनिक सरदर ३० हजार लिटर दूध खरिद गर्छ । त्यसको ७५ प्रतिशतभन्दा बढी इलामबाट आपूर्ति हुने गरेको छ । आयोजनाले रसायनको अभाव देखाएर दूध खरिद नगर्दा इलामको किसानले मात्रै दैनिक रु १३ लाखभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष हेमराज कट्टेल बताउछन् । पूर्वको धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीबाट पनि आयोजनाले दूध खरिद गर्दै आएको छ । एक हप्तादेखि आयोजना बन्द गरिएकाले पूर्वका किसानले रु एक करोडभन्दा बढी नोक्सानी खेप्नुपरिरहेको छ । आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ ।
आयोजनाले यसपटक रसायन अभाव देखाएर दूध खरिद नगरे पनि यसअघि पनि विभिन्न वहानामा अघोेषित ‘मिल्क होलिडे’ गर्दै आएको सङ्घका अध्यक्ष कट्टेलले बताए । दूध बिक्री नभएपछि पोखाउनुको विकल्प नरहेको उनले बताए । आयोजनाले भने भारतबाट ल्याउनु पर्ने रसायन भन्सारमै अड्किएकाले पाउडर बनाउन नसकिनाले दूध खरिद नगरेको जनाएको छ । आपूर्तिकर्ताले भन्सारमै रसायन अड्किएको भनेर नल्यादिएकाले दूध प्रशोधन गर्न नसकेको विराटनगर दूग्ध वितरण आयोजनाका सहायक प्रबन्धक महेन्द्र रायले बताएका राससले लेखेकाे छ।






काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार…
नयाँ दिल्ली, १० मङ्सिर । संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव… 



