बूढानीलकण्ठ मन्दिर नौ महिनापछि आजबाट खुला

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ पुस । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आज बिहानबाट भक्तजनका लागि खुला गरिएकाे छ ।

कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आजदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुलाउने व्यवस्था मिलाइएकाे बुढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले बताए ।

बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिएकाे कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गरेका हुन ।

नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमित भइरहेको छ । मन्दिरमा चतुर्मास, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला यस वर्ष कोरोनाका कारण स्थगित गरिएको छ । बुढानीलकण्ठमा विष्णु र शिव दुवै भगवान् रहेकाे धार्मिक विश्वास छ ।

ठूलो शिलामा जलमाथि भगवान् शयन गरेकाे अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ पुग्ने गरेका छन् ।