
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग सो विधेयकका बारेमा छलफल गर्नुभएको छ । मन्त्रालयले आवश्यक छलफल तथा गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयकलाई छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । प्रस्तावित संशोधन विधेयकमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमाको दायरामा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने विषयलाई प्राथमिकतामा राखिएको छ ।
स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, बीमा सेवा प्रवाह सहज बनाउने, स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने तथा अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि प्रस्तावित सुधारमा समेटिएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्चको व्यवस्थापनमा मात्रै सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाएको मन्त्री मेहताले जानकारी दिनुभयो ।






काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार…
नयाँ दिल्ली, १० मङ्सिर । संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव…
सियोल, १० मङ्सिर । दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा पुर्याएको… 



