
काठमाडौं, २३ असार । सांसद सरिता गिरी अन्ततः पार्टीबाट निस्काशित हुने भएकी छन् । संघीय समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको हो।
नेपालको नयाँ नक्साको विपक्षमा अभिव्यक्ति दिएको, संविधान संशोधनको पक्षमा मतदान गर्न दिएको निर्देशन उल्लंघन गरेको आरोप गिरीमाथि लागेको छ ।
‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्।
पार्टी ह्वीपको उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई संसद र पार्टी दुबैमा नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि जेठ ३१ मा भएको संविधान संशोधनमा गिरीले मतदान बहिष्कार गरेकी थिइन्।
समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर संसद बैठक चलिरहँदा बाहिरिएकी सांसद गिरीले सार्वजनिक रुपमा पनि सो नक्सा जारी गर्ने सरकारी निर्णयको विरोध गरेकी थिइन्।
पार्टी महासचिव रामसहायप्रसाद यादव नेतृत्वको ३ सदस्यीय कार्यदलले गिरीलाई हटाउने सिफारिश सहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको थियो ।