
सिन्धुपाल्चोकमा भीषण बाढीपहिरो गएको छ । गएराति १२ बजेदेखि परेको अविरल वर्षाका कारण भोटेकोशीसँगै आसपासका खोलामा आएको बाढीपहिरोमा बाह्रबिसेमा व्यापक क्षति पुगेको छ ।
बाढीपहिरोले त्यस क्षेत्रको १५ घर र नजिकै रहेको जम्बु बस्तीको करिब १६ घरलगायत केही सवारीसाधन बगाएको छ । जसमा २ जनाको मृत्यु भएको छ भने एक चिनियाँसहित २१ जना बेपत्ता छन् ।
बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा फुन्जु शेर्पाका अनुसार वडा–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनका ३ वर्षीया छोरीको शव भेटिएको छ ।
प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको छ । बाढीले अरनीको राजमार्ग बगाएकाले यतिबेला बाह्रबिसे नगरपालिका र भोटेकोश गाउँपालिका सडक सञ्जालबाट पूर्ण विच्छेद भएको छ।
बाढीपहिरोले बाह्रबिसे नगरपालिकाको खागदल पक्की पुल बगाएको छ । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।
जम्बुसम्म पुग्ने राजमार्गक्षेत्रको सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल गएको छ ।
जल तथा मौसम विज्ञान विभागले बागमतीसहित प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशमा असार २५ देखि २८ सम्म अधिक वर्षा हुने अनुमान गरिसकेको छ । अनुमान अनुरुप ती प्रदेशमा लगातार वर्षा भइरहेको छ ।