गरिमा बैंकको हायर पर्चेज कर्जाका ऋणीलाई छुट

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित



गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बरप्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई असारको व्याज रकम नलिने घोषणा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि नेपालमा जारी लकडाउन अवस्थामा बैंकले राहतस्वरुप असार महिनाको व्याज रकम पूरै छुट दिने भएको हो ।

बैंकमा सुरक्षण रुपमा सम्बन्धित सवारीसाधन समेत धितो राखी यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीको हरियो नम्बर प्लेटका सवारीसाधन (बस, मिनीबस, माइक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदमा प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही (ऋणी) लाई वैशाखदेखि असारसम्म ब्याजदरमा २ प्रतिशत विन्दुदरले दिइएको छुटबाहेक सो समेत राहत प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

बैंकका अनुसार सेवाग्राहीले चालु आवको असारभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

हायर पर्चेज शीर्षकमा कर्जा सुविधा लिनेलाई प्रदान गर्न लागेको छुटले थोरै भएपनि राहत हुने बैंकको विश्वास छ ।