गण्डकी प्राप्तिपछि मेगा बैंकको एकीकृत कारोबार

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित



मेगा बैंक नेपाल लि.ले पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंक लि. लाई प्राप्ति गरेको छ । मेगा बैंक नाममा एकीकृत कारोबार असार २१ देखि शुभारम्भ भयो ।

पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले एकीकृत कारोबार शुभारम्भ गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा लगानी गर्न बैंकहरूलाई आग्रह गरे ।
उनले नेपालमै उत्पादित कच्चापदार्थमा आधारित उद्योगको स्थापना गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो बनाउन सकिने बताए ।

प्रदेश सांसद विन्दुकुमार थापाले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बिग मर्जरलाई प्रोत्साहित गर्ने नीति ल्याउनेमा आफू विश्वस्त रहेको बताए। मेगा बैंकले मर्जर प्रक्रियालाई कुशलतापूर्वक सम्पन्न गरेको भन्दै उनले कोभिड–१९ महामारीले समस्यामा पारेका बेला बैंकर र व्यवसायीहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

पोखराका मेयर मानबहादुर जिसीले कोरोना भाइरसको महामारीका कारण पोखराले गएको तीन महिनामा मात्रै १६ अर्ब बराबरको नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै पर्यटन क्षेत्रले मात्रै ७ अर्ब बराबरको नोक्सानी व्यहोर्नुपरेको बताए।

उनले अहिलेको चुनौती सामना गर्न सक्ने व्यवसायी वा बैंकर नै सफल व्यवसायी र सफल बैंकर बन्न सक्ने बताए ।

कार्यक्रममा साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचन, संयुक्त प्राप्ति समिति तथा मेगा बैंकका सञ्चालक मदनकुमार आचार्य, साबिक गण्डकी विकास बैंकका मर्जर कमिटीका संयोजक पद्मप्रसाद पौडेल, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलगायतले बोेलेका थिए ।

एकीकृतछि मेगा बैंकको देशभर २ सय ६ शाखा पुगेको छ ।

यस्तै, बैंकको चुक्ता पूँजी १३ अर्ब पुगेको छ भने कुल निक्षेप १ खर्ब २५ अर्ब पुगेको बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले जनाइन् ।