उन्नति र सहकार्यको एकीकृत कारोबार

-



     सफल आवाज    
     असार २८ गते २०७७ मा प्रकाशित



उन्नति लघुुवित्त वित्तीय संस्था, भैरहवा र सहकार्य लघुुवित्त वित्तीय संस्था, सर्लाहीले एकीकृत कारोबार शुरु गरेका छन् । दुवै संस्थाहरूले मर्जर मार्फत उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।

मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्न दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले गत फागुुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।

१५ वटा जिल्लामा लघुुवित्तसम्बन्धी कार्य गर्दै आएको उन्नति र १० जिल्लामा लघुुवित्त सम्बन्धी कार्य गर्दै सहकार्य बीच भएको भएको मर्ज पश्चात बनेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ३० करोड रुपैयाँ अधिकृत पुँजी, १४ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी, दुई अर्ब ३० करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी, ८० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन हुनुका साथै ५० हजार भन्दा बढी सेवाग्राही पुग्ने छन् । ५५ वटा शाखा कार्यालयहरु मार्फत २५ जिल्लामा सेवा प्रवाह गर्ने संस्थामा तीन सय भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

मर्जरपछि बनेको एकीकृत संस्था उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा साविकको उन्नतिकी अध्यक्ष अनिता ढुंगाना शाह र प्रमुख कार्यकारी अधिकृत साविकको उन्नतिका प्रेमबहादुर पाठक रहने व्यवस्था भएको प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठकले जानकारी गराए ।