
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या र रेमिट्यान्स आप्रवाह दुबैमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १२ प्रतिशतले र रेमिट्यान्स आप्रवाह ३ प्रतिशतले गिरावट आएको हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने १२.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले बताएको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।